प्लास्टर क्याल्कुलेटर (Plaster Calculator): घरको भित्तामा कति सिमेन्ट र बालुवा लाग्छ? आफै निकाल्नुहोस्!
घर बनाउँदा संरचना (Structure) बलियो हुनु जति जरुरी छ, त्यति नै महत्वपूर्ण हुन्छ त्यसको फिनिसिङ। फिनिसिङमा सबैभन्दा मुख्य पाटो भनेको प्लास्टर (Plastering) हो। धेरैजसो घरधनी र नयाँ ठेकेदार साथीहरूलाई एउटै चिन्ता हुन्छ- “यो कोठा प्लास्टर गर्न कति बोरा सिमेन्ट लेराउनु पर्ला? कति टिपर बालुवा चाहिन्छ होला?”
अनुमानको भरमा सामान ल्याउँदा कहिले सामान पुग्दैन त कहिले धेरै भएर खेर जान्छ। त्यसैले आजको यस ब्लगमा हामी १०’ × १०’ × १०’ को एउटा कोठाको उदाहरण लिएर स्टेप-बाई-स्टेप प्लास्टर गणना (Calculation) सिक्नेछौँ।
यदि तपाईँलाई यी सबै झन्झटिलो लाग्छ भने, सिधै हाम्रो अनलाइन टुल प्रयोग गर्न सक्नुहुन्छ:
👉 NirmanSutra Plaster Calculator

१. प्लास्टर गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
गणना सुरु गर्नुभन्दा पहिले केही प्राविधिक कुराहरू बुझौँ:
- आन्तरिक भित्ता (Internal Wall): सामान्यतया १२.५ एमएम (12.5mm) वा आधा इन्च बाक्लो प्लास्टर गरिन्छ।
- बाहिरी भित्ता (External Wall): यहाँ २० एमएम (20mm) सम्म बाक्लो प्लास्टर गरिन्छ (दुई लेयरमा)।
- छत (Ceiling): यहाँ ६ एमएम (6mm) देखि ९ एमएम (9mm) सम्म मात्र प्लास्टर गरिन्छ।
- मिश्रण अनुपात (Ratio): भित्ताका लागि १:४ वा १:५ र छतका लागि १:३ को अनुपात राम्रो मानिन्छ।

२. स्टेप-बाई-स्टेप गणना विधि (Step-by-Step Calculation)
हामी एउटा मानक कोठाको उदाहरण लिनेछौँ:
- कोठाको साइज: १० फिट लम्बाइ, १० फिट चौडाइ र १० फिट उचाइ।
- ढोका: ३’ × ७’ (एउटा)
- झ्याल: ६’ × ४’६” (एउटा)
- अनुपात: १:५ (१ भाग सिमेन्ट : ५ भाग बालुवा)
- बाक्लोपन: १२.५ एमएम (0.5 inch)
- छत बाहेक (Only 4 Walls)
स्टेप १: जम्मा क्षेत्रफल (Total Area) निकाल्ने
पहिले चारवटै भित्ताको जम्मा क्षेत्रफल निकालौँ।
- परिधि (Perimeter) = २ × (लम्बाइ + चौडाइ) = २ × (१० + १०) = ४० फिट
- जम्मा भित्ताको क्षेत्रफल = परिधि × उचाइ = ४० × १० = ४०० वर्ग फिट (sq.ft)
स्टेप २: कटौति (Deductions) घटाउने
हामीले झ्याल र ढोका भएको ठाउँमा प्लास्टर गर्नु पर्दैन, त्यसैले त्यसलाई घटाउनुपर्छ।
- ढोकाको क्षेत्रफल = ३’ × ७’ = २१ वर्ग फिट
- झ्यालको क्षेत्रफल = ६’ × ४.५’ = २७ वर्ग फिट
- जम्मा कटौति = २१ + २७ = ४८ वर्ग फिट
खुद प्लास्टर क्षेत्रफल (Net Area) = ४०० – ४८ = ३५२ वर्ग फिट
स्टेप ३: ओसिलो आयतन (Wet Volume) निकाल्ने
क्षेत्रफललाई बाक्लोपन (Thickness) ले गुणन गर्दा आयतन निस्कन्छ।
- बाक्लोपन = १२.५ एमएम = ०.०४१ फिट
- Wet Volume = ३५२ × ०.०४१ = १४.४३ घन फिट (cu.ft)
स्टेप ४: सुक्खा आयतन (Dry Volume) र Wastage
सिमेन्ट र बालुवा मिसाउँदा पानी हालेपछि आयतन घट्छ। साथै, केही मसला इँटाको कापमा भरिन्छ र केही भुइँमा झरेर खेर जान्छ। यसका लागि हामी १.६६ को मल्टिप्लायर (Multiplier) प्रयोग गर्छौँ।
- Dry Volume = १४.४३ × १.६६ = २३.९५ घन फिट (लगभग २४ cu.ft)
स्टेप ५: सिमेन्ट र बालुवाको मात्रा
अनुपात १:५ भएपछि जम्मा भाग (Total Parts) = १ + ५ = ६
- सिमेन्ट (Cement): (१ / ६) × २४ = ४ घन फिट
- बोरामा लाँदा (१ बोरा = १.२२६ cu.ft): ४ / १.२२६ = ३.२६ बोरा (करिब ३.५ बोरा)
- बालुवा (Sand): (५ / ६) × २४ = २० घन फिट
यदि तपाईँलाई यी सबै झन्झटिलो लाग्छ भने, सिधै हाम्रो अनलाइन टुल प्रयोग गर्न सक्नुहुन्छ:
👉 NirmanSutra Plaster Calculator
३. प्लास्टर गर्ने सही तरिका (Procedures)
१४ वर्ष साइटमा काम गर्दा मैले देखेको, धेरैले गर्ने गल्ती भनेकै हतारमा प्लास्टर गर्नु हो। सही तरिका यस प्रकार छ:
- सतहको तयारी: प्लास्टर गर्नुभन्दा १ दिन अगाडि नै भित्तालाई राम्ररी पानीले भिजाउनुहोस्। इँटाले पानी सोसेको हुनुपर्छ ताकि त्यसले मसलाको पानी नचोसोस्।
- खाल्डाखुल्डी भर्ने: इँटाका कापहरू राम्ररी सफा गरी ‘चिपिङ’ गर्नुहोस्।
- बुलिङ (Bull Marks): भित्ता सिधा बनाउनका लागि ठाउँ-ठाउँमा साहुल (Plumb bob) प्रयोग गरेर मसलाको सानो टिकिया (Marks) लगाउनुहोस्।
- सिमेन्टको घोल (Cement Slurry): प्लास्टर सुरु गर्नुअघि भित्तामा हल्का सिमेन्टको पानी छर्कनुहोस्, यसले पकड बलियो बनाउँछ।
- मसला बिछ्याउने: मुछेको मसलालाई छिटो-छिटो भित्तामा फाल्नुहोस् र ‘फन्टी’ (Straight edge) लगाएर लेभल मिलाउनुहोस्।
- फिनिसिङ: अन्त्यमा ‘गुरमाला’ (Wooden float) वा स्टिल फ्लोटले फिनिसिङ दिनुहोस्।
४. प्लास्टरको गुणस्तर कसरी चेक गर्ने? (Quality Check)
तपाईँको ठेकेदारले काम त गर्यो, तर त्यो सही छ कि छैन? यी ३ कुरा हेर्नुहोस्:
- साहुल र लेभल: साहुल झुण्ड्याएर हेर्दा माथिदेखि तलसम्म भित्ता सिधा हुनुपर्छ।
- ठकठक आवाज (Hollowness): प्लास्टर सुकेपछि हातले वा काठले ठकठक पार्दा खोक्रो आवाज आयो भने बुझ्नुहोस्— प्लास्टर भित्तासँग टाँसिएको छैन।
- दरार (Cracks): प्लास्टर गरेको केही दिनमा मसिना कपाल जस्ता दरार आएका छन् कि छैनन् चेक गर्नुहोस्। यो धेरै सिमेन्ट प्रयोग गर्दा वा क्युरिङ नपुग्दा हुन्छ।
५. क्युरिङ (Curing) गर्ने समय: सबैभन्दा महत्वपूर्ण पाटो
प्लास्टर गरेर मात्र पुग्दैन, त्यसलाई ‘पकाउनु’ पर्छ।
- अगाडि (Pre-wetting): प्लास्टर गर्नुभन्दा अगाडि भित्तालाई यति भिजाउनुहोस् कि इँटा ‘स्याचुरेटेड’ होस्।
- पछाडि (Post-curing): प्लास्टर गरेको २४ घण्टापछि पानी लगाउन सुरु गर्नुपर्छ।
- अवधि: कम्तिमा ७ देखि १० दिन सम्म दिनको २-३ पटक पानीले भिजाउनु पर्छ। क्युरिङ गरिएन भने प्लास्टर धुलो भएर झर्छ र कहिल्यै बलियो हुँदैन।
६. निष्कर्ष
प्लास्टरको गणना गर्दा सधैँ २५% जति खेर जाने (Wastage) र इँटाको काप भर्ने भाग थप्न नबिर्सनुहोस्। माथिको उदाहरणमा हामीले देख्यौँ कि १०’x१०’ को एउटा सामान्य कोठाका ४ भित्ताका लागि करिब ३.५ बोरा सिमेन्ट र २० क्युबिक फिट बालुवा आवश्यक पर्छ।
यदि तपाईँ आफ्नो घरको लागि यस्तै सटिक हिसाब निकाल्न चाहनुहुन्छ भने, हाम्रो निर्मााण सूत्र प्लास्टर क्याल्कुलेटर प्रयोग गर्नुहोस्। यसले तपाईँलाई इन्जिनियरिङ डाटाको आधारमा साइटमा ठ्याक्कै चाहिने सामानको विवरण दिनेछ।
निर्माण सम्बन्धी अन्य जानकारीका लागि “निर्माण सूत्र” (Nirman Sutra) सँग जोडिनुहोस्। सुरक्षित र बलियो घर बनाउनुहोस्!
के तपाईँलाई यो जानकारी उपयोगी लाग्यो?
तपाईँको निर्माण सम्बन्धी कुनै पनि जिज्ञासा भए तल कमेन्ट गर्नुहोस् वा हाम्रो वेबसाइटमा रहेका अन्य क्याल्कुलेटरहरू प्रयोग गरी हेर्नुहोस्।
- ब्रिक क्याल्कुलेटर (Brick Calculator)
- कन्क्रिट मिक्सर (Concrete Estimator)
- डन्डीको वजन (Steel Weight Calculator)
सबै औजारहरू यहाँ उपलब्ध छन्: tools.nirmansutra.com